कुहिएको चामल खान बाध्य

हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ ।
 
 
हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको चामल जनतालाई बिक्री गर्ने गरेका छन् । सर्केगार्ड गाउँपालिका–१ जैरबाट चार घण्टा पैदल हिँडेर चामल लिन बालुकुना पुगेका स्थानीयवासी धनगडी बलले गुनासो गरे ।
अधिकांश उपभोक्ताले चामल किनेर घर पुर्याइसकेपछि मात्रै चामल गुणस्तरहीन रहेको थाहा पाएका छन् । चामल डल्ला र घुन लागेर खान नमिल्ने खालको भएपछि गाईभैँसीलाई खुवाएको सर्केगार्ड गाउँपालिका–१ का स्थानीयवासी दिलबहादुर कार्कीले बताए । उनले भने–  ‘‘माथिल्लो भाग हेर्दा चामल राम्रै देखिन्थ्यो बीच र तल्लोमा काम नलाग्ने कुहिएर डल्ला परेको रहेछ ।’’ फिर्ता गर्न धेरै समय लाग्ने भएकाले अधिकांश उपभोक्ताले चामल, गाईभैँसीलाई खुवाउन बाध्य भएको कार्कीको भनाइ छ । ठेकेदारले जहाँ पायो त्यही गोदाम बनाएर थन्काएर राखेपछि यस्तो समस्या खेप्नु परेको उपभोक्ताहरुले दुःखेसो गर्दै आएका छन् ।
 
सुर्खेतबाट मुगुको सोरुकोटसम्म गाडीमा र सोरुकोटबाट खच्चर ढुवानी गरी हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को बालुकुना बिक्री केन्द्रसम्म ३२० क्विन्टल चामल पुर्याएको ठेकेदार प्रदीप टमटाले बताए । गाडीमा भिजेको हुनसक्ने हिमाल निर्माण सेवा मुगुका ठेकेदार टमटाले स्वीकार गरे ।



प्रतिक्रियाहरु